चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका क्रममा प्रतिनिधिको नामावलीमा आफूहरूको नाम छुटेको भन्दै असन्तुष्ट पक्षले निर्वाचन आयोगको कार्यालय घेराउ गरेका छन्।
महाधिवेशनस्थल चितवनमा रहेका निर्वाचन आयोगको कार्यालय अगाडि प्रतिनिधिहरूले नाराबाजी गर्दै नाम समावेश गर्न माग गरेका हुन्। उनीहरूले आफूहरू विधिवत् प्रक्रिया पूरा गरेर प्रतिनिधि चयन भए पनि अन्तिम सूचीमा नाम नपरेको गुनासो गरेका छन्।
प्रतिनिधिको नामावली विवादका कारण सोमबारदेखि सुरु हुने भनिएको बन्दसत्र प्रभावित भएको थियो। त्यसपछि निर्वाचन समितिले पुनः नामावली अद्यावधिक गर्दै प्रतिनिधिको संख्या ३ हजार ८ सय ४९ पुर्याएको जनाएको थियो।
तर, अद्यावधिक सूचीमा समेत केही प्रतिनिधिको नाम नसमेटिएको भन्दै असन्तुष्टि चर्किएको हो। प्रभावित पक्षले समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
रास्वपाको पहिलो महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेको छ।