राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुप्रतीक्षित बन्दसत्र आज औपचारिक रूपमा सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेलगत्तै बन्दसत्रको प्रक्रिया अघि बढाइएको हो।
प्रतिनिधि छनोट र नामावलीसम्बन्धी विवादका कारण हिजो सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको थियो। विवाद समाधानका प्रयासपछि आजका लागि पुनः तालिका तय गरी कार्यक्रम अघि बढाइएको हो।
बन्दसत्रमा नेतृत्व चयन, संगठनात्मक संरचना र आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, चर्चित नेता बालेन्द्र शाह (बालेन) भने हालसम्म हलमा उपस्थित भएका छैनन्। उनी सहभागी हुने/नहुने विषयलाई लिएर पनि चासो बढेको छ।
पार्टीभित्र देखिएको आन्तरिक असहमति र प्रतिनिधि विवादका बीच सुरु भएको बन्दसत्रले रास्वपाको आगामी रणनीतिमा महत्वपूर्ण दिशा तय गर्ने बताइएको छ।