‘नेपालले भारतको भूमि मिचेको हो ?’ विश्वप्रकाशले रास्वपासँग मागे आधिकारिक धारणा

1.9k Shares

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।

मंगलबार झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीले संसद्मा ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि केही स्थानमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको प्रसंग उठाउँदै रास्वपाको संस्थागत धारणा के हो भनेर प्रश्न गरेका हुन्।

उनले नेपालले वास्तवमै भारतको भूमि मिचेको हो भने त्यसको स्पष्ट विवरण र प्रमाण सार्वजनिक गर्नुपर्ने, अन्यथा प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति फिर्ता लिन रास्वपाले किन दबाब नदिएको भन्दै प्रश्न उठाए। उनका अनुसार राष्ट्रिय हित र संवेदनशील कूटनीतिक विषयमा स्पष्ट नीति र जिम्मेवार अभिव्यक्ति आवश्यक हुन्छ।

शर्माले रास्वपाको महाधिवेशन केवल नेतृत्व चयनमा सीमित नहुनुपर्ने उल्लेख गर्दै राष्ट्रिय मुद्दाहरूमा पार्टीको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए। उनले लोकतान्त्रिक संस्कार, संसद्मा देखिएका व्यवहार, भ्रष्टाचारसम्बन्धी कानुनी व्यवस्थामा गरिएको परिवर्तन तथा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणजस्ता विषयमा पनि रास्वपाले स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे।

यसअघि पनि सामाजिक सञ्जालमार्फत विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार र रास्वपाको आधिकारिक धारणा प्रतिनिधित्व गर्छ कि व्यक्तिगत विचार मात्र हो भन्ने प्रश्न उठाएका थिए। उनले संवेदनशील कूटनीतिक विषयमा प्रधानमन्त्रीले अत्यन्त संयम र परिपक्वता अपनाउनुपर्ने बताएका छन्।

 
 
सम्बन्धित समाचार