भावनाले होइन, आत्मसमीक्षाले मात्रै सम्भव हुन्छ कम्युनिस्ट एकता : माधव नेपाल

1.6k Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनात्मक अभिव्यक्तिले मात्र कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका कमजोरी र विचलनबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले नेपालका सबै कम्युनिस्ट घटकले आफ्ना–आफ्ना पार्टीभित्र आत्ममन्थन र आत्मचिन्तन गर्नुपर्ने बताउँदै विगतका गल्ती, कमजोरी र विसङ्गतिको वस्तुनिष्ठ समीक्षा गरेर सही निष्कर्षमा पुग्न सके मात्र कम्युनिस्टहरूलाई एउटै ठाउँमा ल्याउन सकिने धारणा राखे।

सहसंयोजक नेपालले एकताका लागि सबैभन्दा पहिले मन मिल्नुपर्ने उल्लेख गर्दै तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता हुने सम्भावना भने नदेखिएको बताए।

जननेता मदन भण्डारीको ‘कुराले चिउरा भिज्दैन’ भन्ने भनाइ स्मरण गर्दै उनले केवल भाषण र घोषणाले मात्रै एकता सम्भव नहुने जिकिर गरे। यथार्थको धरातलमा उभिएर व्यापक छलफल, बहस र सहमतिका आधारमा मिल्न सक्ने विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।

 
 
सम्बन्धित समाचार