काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको छ । चिकित्सकहरूले उनलाई बचाउन रातभर विभिन्न उपचार प्रक्रिया अपनाए पनि गम्भीर जलनका कारण उनको ज्यान जोगाउन नसकिएको बताएका छन् ।
बिहीबार दिउँसो शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उनलाई तत्काल उद्धार गरी करिब सवा २ बजे वीर अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अस्पताल पुग्नेबित्तिकै सबैभन्दा पहिले उनको शरीर चिस्याउने (कुलिङ) प्रक्रिया सुरु गरिएको थियो, जसमा करिब १५ मिनेट लागेको थियो। त्यसपछि जलेका भाग सफा गरी थप उपचार अघि बढाइएको थियो ।
उपचारमा संलग्न वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालका अनुसार अस्पताल ल्याइँदा गणेश सामान्य रूपमा बोल्न सक्ने अवस्थामा भए पनि उनको श्वासप्रश्वासमा गम्भीर समस्या देखिन थालेको थियो । शरीरमा अक्सिजनको मात्रा घटिसकेको थियो भने रगतमा सुगरको मात्रा ३१३ पुगेको थियो ।
डा. दाहालका अनुसार गणेशको टाउको, अनुहार र छातीमा सबैभन्दा बढी जलन भएको थियो। उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उपचारका क्रममा उनीमा कम्पार्टमेन्ट सिन्ड्रोम समेत विकसित भइसकेको चिकित्सकहरूले बताएका छन् । जलेको भाग अत्यधिक सुन्निने, छाला कडा हुने र भित्रका मांसपेशी तथा तन्तुमा दबाब बढेर रक्तसञ्चार अवरुद्ध हुने यो अवस्था मेडिकल इमर्जेन्सी मानिन्छ। त्यसलाई नियन्त्रण गर्न चिकित्सकहरूले पहिलो चरणको शल्यक्रियासमेत गरेका थिए ।
डा. दाहालका अनुसार जलनका बिरामीको उपचार केवल जलेको भागमा सीमित हुँदैन । यसले फोक्सो, मुटुलगायत शरीरका अन्य अंगमा समेत असर गर्ने भएकाले प्लास्टिक सर्जरी, एनेस्थेसिया, क्रिटिकल केयर मेडिसिनलगायतका विशेषज्ञ चिकित्सकको टोली रातभर उपचारमा खटिएको थियो ।
यसैबीच सरकारले गणेशलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने निर्णय गरेको थियो। वीर अस्पतालका चिकित्सकहरूले एम्सका विशेषज्ञसँग परामर्शसमेत गरेका थिए। एम्बुलेन्स, हवाई उद्धार र अस्पतालसम्मको उपचार व्यवस्थासमेत मिलाइएको थियो । तर बिरामीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेकाले भारत लैजान सम्भव नभएको डा. दाहालले बताए ।
उपचारका क्रममा गणेशको स्वास्थ्य अवस्था राति नै थप जटिल बनेपछि चिकित्सकहरूले पहिलोपटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएका थिए । जीवनरक्षक औषधिसमेत प्रयोग गरिएको थियो र त्यसपछि केही समय स्वास्थ्यमा सामान्य सुधार देखिएको थियो ।
तर शुक्रबार बिहान उनको अवस्था फेरि गम्भीर बन्दै गएपछि दोस्रोपटक पनि सीपीआर दिइयो। यद्यपि दोस्रो प्रयासले पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । अन्ततः शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा चिकित्सकहरूले गणेश नेपालीलाई मृत घोषणा गरेका थिए ।