देशभर मनसुनी प्रभाव, आज पनि धेरै ठाउँमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

1.2k Shares

काठमाडौं । भर मनसुनी वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले मौसम बदलीसँगै विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान छ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाडी र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारी वर्षाका कारण नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने स्थानमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
सम्बन्धित समाचार