सन्धिखर्कको इतिहास जोगाउन शान्ति बगैंचामा अर्घा र खाँचीका राजाको सालिक स्थापना

1.3k Shares

अर्घाखाँची । सन्धिखर्कको ऐतिहासिक पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले शान्ति बगैंचामा तत्कालीन अर्घा र खाँची राज्यका राजाको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

सालिकमा तत्कालीन अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका राजा विक्रम शाहले हात मिलाएर सन्धि गरिरहेको दृश्यलाई मूर्त रूप दिइएको छ । स्थानीय इतिहासअनुसार यही ऐतिहासिक सन्धिपछि उक्त स्थान ‘सन्धि भएको खर्क’ अर्थात् ‘सन्धिखर्क’ नामले परिचित बनेको मानिन्छ ।

नेपाल एकीकरणअघि चौबीसे राज्यकालमा अर्घा र खाँची छुट्टाछुट्टै राज्य थिए । दुवै राज्यबीच लामो समयसम्म द्वन्द्व र युद्ध भइरहेपछि अन्ततः शान्तिपूर्ण सहअस्तित्वका लागि सन्धि गरिएको इतिहासमा उल्लेख छ । यही घटनाले जिल्लाको नाम ‘अर्घाखाँची’ रहन गएको विश्वास पनि स्थानीय स्तरमा प्रचलित छ ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले उक्त सालिकले युद्धभन्दा शान्ति, मेलमिलाप र सहकार्य महान् हुने सन्देश प्रवाह गर्ने बताए । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र सन्धिखर्क नगरपालिकाको समन्वयमा निर्माण गरिएको यो संरचनाले जिल्लाको ऐतिहासिक पहिचान संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

इतिहासविद्हरूका अनुसार यस्ता स्मारकले नयाँ पुस्तालाई स्थानीय इतिहाससँग प्रत्यक्ष रूपमा परिचित गराउन सहयोग पुग्नेछ । सुपा देउराली, पाणिनी तपोभूमि, अर्घा दरबार र खाँची दरबारजस्ता ऐतिहासिक तथा धार्मिक गन्तव्यसँगै शान्ति बगैंचामा स्थापना गरिएको यो सालिक पनि अर्घाखाँचीको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार