टमाटर सडकमा फालेर किसानको विरोध, कृषि नीति सच्याउन सरकारसँग माग

1.7k Shares

काठमाडौं । तरकारी किसानहरूले आफ्ना उत्पादनले उचित मूल्य नपाएको भन्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी कृषि उत्पादन संकटमा परेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटरले बजार नपाएको, बिक्री मूल्यले उत्पादन लागतसमेत नउठेको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको गुनासो गरे।

सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विरोधस्वरूप टमाटर सडकमै फालेका थिए। किसानहरूले कृषि क्षेत्रको संरक्षण र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि तत्काल प्रभावकारी नीति लागू गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बीउको सहज उपलब्धता, प्रभावकारी बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

साथै, सस्तो मूल्यमा आयात हुने विदेशी तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको उल्लेख गर्दै स्वदेशी कृषि उत्पादनको संरक्षणका लागि आयात नीतिमा समेत पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्।

सम्बन्धित समाचार