बागमतीमा मन्त्रालय आठमा सीमित, नयाँ कार्यविभाजन लागू

1.4k Shares

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै लागू भएको नयाँ संरचनाअनुसार मन्त्रिपरिषद्को कार्यविभाजन शुक्रबारदेखि कार्यान्वयनमा आएको हो।

वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नेपालको संविधानको धारा १६८ बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन गरेका हुन्।

नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा अब आठ मन्त्रालय रहनेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नै सम्हाल्नेछन्।

त्यसैगरी मधुसूदन पौडेललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र कञ्चनचन्द्र वादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डा. दिनेशचन्द्र देवकोटाले पाएका छन् भने आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय कृष्णकुमार तामाङ र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठले सम्हाल्ने भएका छन्।

यसैबीच प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ।

सम्बन्धित समाचार