काठमाडौं । नेपाल–चीन जोड्ने तातोपानी सीमा नाका सञ्चालनमा आएको तीन दिन नबित्दै पुनः बन्द गरिएको छ। भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढेपछि सुरक्षा जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि नाकाबाट हुने आवागमन रोकिएको हो।
चिनियाँ पक्षले नदीको बहाव सामान्य नभएसम्म नाका सञ्चालन गर्न नसकिने जानकारी दिएको छ। यससँगै नाकाबाट हुने आयात–निर्यात, मालवाहक कन्टेनरको आवतजावत तथा यात्रुको आवागमन पुनः प्रभावित भएको छ।
यसअघि वर्षा र पहिरोका कारण लामो समय बन्द रहेको तातोपानी नाका केही दिनअघि मात्र सञ्चालनमा आएको थियो। तर, लगातारको वर्षासँगै भोटेकोशी नदीमा बहाव बढेपछि सुरक्षा सतर्कताका रूपमा नाका पुनः बन्द गरिएको हो।
तातोपानी नाका नेपाल–चीन व्यापारका प्रमुख प्रवेशद्वारमध्ये एक हो। नाका पटक–पटक बन्द हुँदा आयात–निर्यात, स्थानीय व्यापार तथा ढुवानी व्यवस्थामा प्रत्यक्ष असर पर्ने गरेको छ।