नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, बाढीपहिरोले बीपी राजमार्ग र कान्ति लोकपथ भने बन्द

1.6k Shares

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन तथा मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। पहिरो हटाइएपछि दुवैतर्फबाट सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा गएराति खसेको पहिरो हटाइएपछि पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा यातायात सेवा सामान्य बनेको हो। अहिले यी सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

यता, अविरल वर्षाका कारण बीपी राजमार्ग र कान्ति लोकपथ भने पूर्ण रूपमा अवरुद्ध भएका छन्। कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा पहिरो खसेपछि चापागाउँ–हेटौंडा सडकखण्ड बन्द भएको छ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्नुका साथै रोशी खोलामा पानीको बहाव बढेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जोखिम बढेकाले काभ्रे हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनलाई प्रहरीले विभिन्न स्थानमा रोकेर राखेको जनाएको छ।

यसैबीच, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो खस्नुका साथै जिरोकिलो क्षेत्रमा सडक भासिँदा आवागमन प्रभावित भएको छ। सम्बन्धित निकायले पहिरो हटाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन्।

प्रहरीले वर्षा जारी रहेकाले पहाडी राजमार्गमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

bp-highwaya-1230-1024x585.jpg

सम्बन्धित समाचार