बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतना फैलाउने अभियान

1.3k Shares

काठमाडौं । नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा ‘ग्रीन रन’ आयोजना गर्ने भएको छ। जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कांग्रेसले दौडसँगै जलवायु विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्न लागेको हो ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले साउन ७ गते विविध कार्यक्रममार्फत बीपी कोइरालाको स्मृति दिवस मनाउने निर्णय गरेको हो। सोहीअनुसार ‘जलवायु परिवर्तनबारे सचेत बनाऔँ, अघि बढौँ’ भन्ने नारासहित पाँच किलोमिटरको ‘ग्रीन रन’ आयोजना गरिनेछ ।

आयोजकका अनुसार ‘ग्रीन रन’ ललितपुरस्थित संयुक्त राष्ट्रसंघ (यूएन) पार्कबाट सुरु हुनेछ। दौडपछि जावलाखेलमा ‘जलवायु परिवर्तनका चुनौती र न्यूनीकरणका उपाय’ विषयमा विज्ञ तथा सरोकारवालाको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

कांग्रेसले बीपी कोइरालाको लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय विकासप्रतिको योगदानलाई स्मरण गर्दै वातावरण संरक्षण र दिगो विकासका विषयलाई पनि राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा ल्याउने उद्देश्यले कार्यक्रम तय गरिएको जनाएको छ ।

सम्बन्धित समाचार