काठमाडौं, साउन ५ । गत असार २९ गते काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको मुख्य प्रवेशद्वार अगाडि शंकास्पद रूपमा पार्क गरिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्री सुधन गुरुङको आवतजावतका क्रममा ‘स्कर्टिङ’का लागि प्रयोग भएको दाबी सार्वजनिक भएको छ।
प्रकाशित विवरणअनुसार उक्त गाडी असार ७ गते चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा गृहमन्त्री गुरुङको सुरक्षात्मक आवतजावतमा प्रयोग गरिएको देखिएको दाबी गरिएको छ। घटनापछि उपलब्ध भिडियो फुटेजको आधारमा गाडीको प्रयोगबारे पुष्टि गरिएको उल्लेख गरिएको छ।
उक्त गाडी कान्तिपुर मिडिया ग्रुपसँगै बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय अगाडि पनि शंकास्पद रूपमा पार्क गरिएको थियो। सूचना प्राप्त भएपछि प्रहरीले ती गाडीहरू क्रेनमार्फत हटाएको थियो।
समाचारमा असार १४ गते हेटौंडादेखि बाराको पथलैयासम्मको यात्रामा पनि सोही नम्बरको गाडी गृहमन्त्रीले प्रयोग गरेको दाबी गरिएको छ। बाराका एक प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा उक्त गाडी त्यस क्रममा प्रयोग भएको जानकारी दिएका छन्।
यस विषयमा बारा प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा र मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भने आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
यता, गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले उक्त नम्बरको गाडी गृहमन्त्रीले विभिन्न अवसरमा प्रयोग गरेको स्वीकार गरेका छन्। उनका अनुसार चितवन महाधिवेशनका बेला सरकारी गाडी उपलब्ध नभएकाले पार्टी नेता रवि जयसवालको गाडी प्रयोग गरिएको थियो। नाकामा छड्के अनुगमनका क्रममा सरकारी गाडी चिनिने भएकाले वैकल्पिक गाडी प्रयोग गरिएको उनको भनाइ छ।
रवि जयसवाल राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध नेता हुन्। उनी गृहमन्त्री गुरुङनिकट मानिन्छन्।
यस घटनापछि रास्वपाभित्रै पनि प्रश्न उठेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत घटना आपत्तिजनक भएको बताएका छन् भने सभापति रवि लामिछानेले घटनामा जोसुकै संलग्न भए पनि कानुनी कारबाही गरिने बताएका छन्।
घटनामा संलग्न व्यक्तिहरूमाथि के कारबाही हुन्छ र मिडिया हाउसअघि शंकास्पद रूपमा गाडी पार्क गर्ने कार्यको वास्तविक उद्देश्य के थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।