प्रदेश सरकारमा नेकपाको ‘पर्ख र हेर’ रणनीति, कांग्रेस–एमालेसँग सहमतिको सरकारमा जोड

1.6k Shares

काठमाडौं । प्रदेश सरकार गठनका लागि निर्णायक बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कांग्रेस वा एमालेमध्ये कुनै एकसँग मात्र सत्ता सहकार्य नगर्ने स्पष्ट संकेत दिएको छ। पार्टीले सातै प्रदेशमा कांग्रेस, एमाले र नेकपासहितको सहमतिको सरकार गठनका लागि पहल गरिरहेको जनाएको छ।

प्रदेश सरकार सञ्चालन सम्बन्धी पूर्वसहमति कार्यान्वयन नभएपछि नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भत्किएको छ। त्यसपछि सरकार गठनका लागि दुवै दलले नेकपाको समर्थन खोजिरहेका छन्। तर नेकपाले भने अहिलेसम्म कुनै पक्षमा आधिकारिक निर्णय सार्वजनिक गरेको छैन।

दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन श्रीलङ्का प्रस्थान गर्नुअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच यस विषयमा छलफल भएको थियो। छलफलमा कांग्रेस, एमाले र नेकपाको संयुक्त सहमतिमा मात्र सरकार गठनमा सहभागी हुने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ। यदि सहमतिको सरकार बन्न नसके पार्टीले त्यसबारे छुट्टै नीतिगत निर्णय गर्ने विषयमा पनि दुई नेता सहमत भएका छन्।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले नेकपा कुनै एक दलसँग मिलेर सरकार गठन गर्ने पक्षमा नरहेको बताए। उनका अनुसार संविधान, गणतन्त्र र राष्ट्रियताको पक्षमा रहेका सबै प्रगतिशील शक्तिलाई समेटेर सरकार गठन गर्न पार्टीले पहल गरिरहेको छ।

उनले कांग्रेस, एमाले र नेकपाबीच अनौपचारिक संवाद भइरहेको भए पनि अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको जानकारी दिए। साथै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सम्भावित भेटवार्ताबारे पनि छलफल जारी रहेको बताए।

प्रदेश सरकार गठनका विषयमा नेकपाका संगठन विभाग प्रमुख वर्षमान पुन र नेता प्रमेश हमालले कांग्रेस र एमालेसँग निरन्तर संवाद गरिरहेका छन्। कांग्रेसबाट सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा संवादमा छन् भने एमालेबाट उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल निरन्तर छलफलमा संलग्न छन्।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पनि पार्टी कांग्रेस वा एमालेसँग मात्र मिलेर सरकार गठन गर्ने पक्षमा नरहेको दोहोर्याए। उनका अनुसार प्रचण्ड र माधव नेपालबीच प्रदेश सरकार गठनबारे छलफल भए पनि ओलीसँगको भेटवार्ता भने अझै निश्चित भइसकेको छैन।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा विश्वासको मत लिन अझै करिब एक महिना समय बाँकी रहेकाले नेकपाले तत्काल निर्णय नगरी परिस्थिति मूल्याङ्कन गरिरहेको छ। कांग्रेस र एमालेले पनि गठबन्धन औपचारिक रूपमा समाप्त भएको जानकारी अझै दिएका छैनन्।

यसबीच प्रदेश सरकारमा सहभागी हुने विषयमा नेकपाभित्र दुई धार देखिएको छ। झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल र शक्ति बस्नेतलगायत नेताहरू अहिले सत्ताको खेलमा नलाग्नुपर्ने पक्षमा छन्। अर्कोतर्फ प्रचण्ड, माधव नेपाल, वर्षमान पुन, प्रमेश हमाल र प्रकाश ज्वालालगायत नेताहरू सहमतिको वातावरण बने सरकारमा सहभागी हुने र सहमति नजुटे निर्णय गर्ने अधिकार सम्बन्धित प्रदेश समितिलाई दिनुपर्ने धारमा छन्।

नेता शक्ति बस्नेतले पार्टीभित्र छलफल जारी रहेकाले अहिले कुनै निष्कर्षमा पुगिनसकेको बताए।

पार्टीभित्र कांग्रेस वा एमालेमध्ये कससँग सहकार्य गर्ने भन्ने विषयमा पनि मत विभाजित रहेको स्रोतको भनाइ छ। केही नेताहरू एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् भने अर्काथरि कांग्रेसभित्रको आन्तरिक विभाजनलाई ध्यानमा राख्दै त्यससँग पनि सहकार्य गर्दा जोखिम हुन सक्ने धारणा राखिरहेका छन्।

यता प्रदेश तहका नेताहरू भने केन्द्रको निर्णयको प्रतीक्षामा छन्। सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमाले दुवैसँग संवाद भइरहेको भए पनि केन्द्रबाट स्पष्ट निर्देशन नआएकाले प्रक्रिया अगाडि बढ्न नसकेको बताए।

नेकपाका नेता रामकुमार भट्टराईले पनि सर्वसम्मत सरकार गठनको अवस्थाबाहेक सरकारमा सहभागी नहुने पार्टीको धारणा रहेको उल्लेख गर्दै नेकपाबिनै प्रदेश सरकार गठन असम्भव हुने अवस्था आए पार्टीले आवश्यक नीतिगत निर्णय गर्ने बताए।

सम्बन्धित समाचार