दुई जिल्लामा दुःखद घटना: तेह्रथुममा हत्या, मोरङमा करेन्ट लागेर मृत्यु

6.1k Shares

काठमाडौं । तेह्रथुममा एक महिलाको हत्या भएको छ भने मोरङमा करेन्ट लागेर अर्की महिलाको मृत्यु भएको छ। दुवै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्क निवासी ५१ वर्षीया रूपा लिम्बूको बुधबार राति हत्या भएको हो। सोही स्थानका ३८ वर्षीय कृष्णबहादुर लिम्बूले खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

यस्तै, मोरङको उर्लाबारी नगरपालिका–४ खुर्सानीबारीमा ६५ वर्षीया पवित्रा बास्तोलाको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा रहेको घाँस काट्ने मेसिन चलाउने क्रममा बुधबार साँझ करेन्ट लागेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार