थ्रीडी पार्क छाडेर फेरि लाकुरी मञ्चतर्फ फर्कियो रेसुङ्गा

1.7k Shares

तम्घास (गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले प्रयोगविहीन बनेको थ्रीडी पार्क रहेको स्थानमा पुनः लाकुरी रोपेर ऐतिहासिक लाकुरी मञ्चलाई पुनर्स्थापना गर्ने अभियान थालेको छ।

रेसुङ्गा नगरपालिका–८ मा रहेको पुरानो लाकुरी ढलेपछि सोही स्थानमा थ्रीडी पार्क निर्माण गरिएको थियो। तर, पार्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेपछि स्थानीयको मागअनुसार पुनः लाकुरी रोपिएको हो।

नगरप्रमुख खिलध्वज पन्थीले नगरवासीको चाहना र ऐतिहासिक पहिचानलाई कायम राख्ने उद्देश्यले लाकुरी मञ्च पुनर्स्थापना गर्न लागिएको बताउनुभयो। नगरप्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले संयुक्त रूपमा लाकुरी रोपण गरेका छन्।

जिल्ला प्रशासन कार्यालयअगाडि रहेको पुरानो लाकुरी मञ्च सरकारलाई खबरदारी गर्ने ऐतिहासिक स्थलका रूपमा परिचित थियो। सो स्थान हटाएर निर्माण गरिएको थ्रीडी पार्क प्रयोगविहीन बनेपछि स्थानीयले पुनः लाकुरी मञ्चकै रूपमा विकास गर्नुपर्ने माग गर्दै आएका थिए।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले ऐतिहासिक महत्व बोकेको स्थानलाई पुनर्जीवित गर्ने निर्णय स्वागतयोग्य भएको बताउँदै लोकतान्त्रिक रूपमा सरकारको ध्यानाकर्षण गराउने स्थलका रूपमा यसको संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो।

रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको थ्रीडी पार्क निर्माणपछि प्रभावकारी रूपमा सञ्चालन हुन सकेन। नगरपालिकाले यसको मर्मतमा मात्रै १० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।

यस्तै, अर्जुन क्षेत्रमा १५ लाख ८४ हजार रुपैयाँ लागतमा निर्माण गरिएको सेल्फी टावर र तम्घासको उनायचौरमा १३ लाख ३८ हजार ९११ रुपैयाँ लागतमा निर्माण गरिएको ट्री हाउस पनि हाल प्रयोगविहीन अवस्थामा रहेका छन्। नगरपालिकाले ती संरचनाको सञ्चालन र व्यवस्थापनका लागि योजना बनाएर अघि बढ्ने जनाएको छ।

सम्बन्धित समाचार