पहिरोले देशभरका ९ प्रमुख सडक अवरुद्ध

1.5k Shares

काठमाडौं । लगातारको वर्षासँगै खसेको पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै देशभरका नौ प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।

प्रहरीका अनुसार सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, वर्षायामभर कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

यी सडक पूर्ण रूपमा अवरुद्ध

प्रहरीका अनुसार पहिरो, हिलो र सडक कटानका कारण निम्न सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्–

  • मेची राजमार्ग (इलाम नगरपालिका–९ राजदुवाली) – सडक हिलाम्मे भएपछि अवरुद्ध।
  • अरनिको राजमार्ग (सिन्धुपाल्चोकको जिरोकिलो–कोदारी) – पहिरोका कारण पूर्ण रूपमा बन्द।
  • कालीगण्डकी करिडोर (बागलुङ, जैमिनी–८ बेलबगर) – पहिरोले यातायात ठप्प।
  • घोराही–थवाङ सहिद राजमार्ग (रोल्पा) – पहिरोका कारण अवरुद्ध।
  • नाग्म–गमगडी सडक (मुगु, पिना खोला क्षेत्र) – पहिरोले अवरोध।
  • पासाङ ल्हामु राजमार्ग (रसुवा, गोसाइँकुण्ड गाउँपालिका) – यातायात बन्द।
  • मध्यपहाडी लोकमार्ग (अछाम, पानीखोला) – पहिरोका कारण अवरुद्ध।
  • बेँसीसहर–चामे–मनाङ सडक (लमजुङ, म्याग्दे भीर) – सडक बन्द।

दोलखामा वैकल्पिक मार्ग सञ्चालन

यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भएको छ। यद्यपि, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहिरो खस्ने तथा सडक थप क्षति हुन सक्ने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नुपरेमा सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार