सरकारी समीकरणमा नेकपाको कसरत, कांग्रेस–एमालेसँग सहकार्यबारे निरन्तर छलफल

1.5k Shares

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली कांग्रेस र नेकपा एमालेसँग सत्ता सहकार्यको सम्भावनाबारे आन्तरिक तथा अन्तरदलीय छलफललाई तीव्र बनाएको छ। कांग्रेस–एमाले दुवैसँग मिलेर सरकार बनाउने वा कुनै एक दलसँग सहकार्य गर्ने विकल्पबारे पार्टीभित्र निरन्तर गृहकार्य भइरहेको नेताहरूले बताएका छन्।

यसैक्रममा साउन ५ गते नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब दुई घण्टा लामो भेटवार्ता भएको थियो।

भेटका क्रममा प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान राजनीतिक व्यवस्थाको संरक्षणका लागि लोकतान्त्रिक शक्तिहरूबीच व्यापक सहकार्य आवश्यक रहेको धारणा राख्दै सर्वदलीय मोर्चा गठनको प्रस्ताव गर्नुभएको थियो।

स्रोतका अनुसार छलफलमा विकसित राजनीतिक परिस्थिति, प्रदेश सरकारहरूको समीकरण, सत्ता सहकार्यका सम्भावना तथा राष्ट्रिय राजनीतिक सहकार्यका विषयमा समेत विचार–विमर्श भएको थियो।

यद्यपि, सरकार गठन वा सत्ता सहकार्यबारे कुनै ठोस सहमति भने भइसकेको छैन। नेकपाले कांग्रेस र एमाले दुवैसँग संवादलाई निरन्तरता दिँदै उपयुक्त राजनीतिक विकल्प खोजिरहेको जनाएको छ। राजनीतिक वृत्तमा आगामी दिनमा हुने दलहरूबीचको छलफलले नयाँ सत्ता समीकरणको दिशा तय गर्न सक्ने आकलन गरिएको छ।

सम्बन्धित समाचार