नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट शक्तिहरू सत्ता र सरकारको राजनीतिमा केन्द्रित हुँदा कम्युनिस्ट विरोधी शक्तिहरूले दीर्घकालीन रणनीति बनाउन सफल भएको टिप्पणी गर्नुभएको छ।
शुक्रबार काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनले वैचारिक प्रशिक्षण, संगठन निर्माण र दीर्घकालीन रणनीतिलाई कमजोर बनाउँदा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो।
उहाँले नेपाल राष्ट्र र नेपाली जनताका विरोधी शक्तिहरूले योजनाबद्ध रूपमा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने रणनीति अघि बढाएको दाबी गर्नुभयो।
“हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन्। नेपालमा यी कम्युनिस्ट बढी भएका छन्, यिनलाई ठिक पार्नुपर्छ भनेर २० वर्षे योजना बनाएछन्,” प्रचण्डले भन्नुभयो।
उहाँले विरोधी शक्तिहरूको तयारीबारे केही जानकारी भए पनि एकैपटक यति ठूलो स्तरमा नेपालको राजनीतिक संरचनामाथि प्रहार हुने अनुमान आफूहरूले नगरेको स्वीकार गर्नुभयो।
“यो स्तरमा आउँदैनन् होला भन्ने भ्रम पालिएछ, हामीले,” उहाँले भन्नुभयो।
प्रचण्डका अनुसार शान्ति सम्झौतापछि नेपाली कम्युनिस्ट शक्तिहरू सरकार सञ्चालन, प्रधानमन्त्री, मन्त्री तथा प्रदेश र स्थानीय तहका पदमा केन्द्रित भए। त्यसकै बीचमा कम्युनिस्ट विरोधी शक्तिहरूले आफ्नो रणनीति कार्यान्वयन गर्ने अवसर पाएको उहाँको भनाइ थियो।
उहाँले वैचारिक अभियान र निरन्तर राजनीतिक ‘स्कुलिङ’लाई बेवास्ता गर्नु कम्युनिस्ट आन्दोलनको मुख्य कमजोरी भएको उल्लेख गर्दै सरकार र सत्तालाई नै अन्तिम लक्ष्यका रूपमा लिने प्रवृत्तिले आन्दोलनलाई क्षति पुर्याएको धारणा राख्नुभयो।
“हामी रणनीतिलाई भुल्यौं, विचारको निरन्तर स्कुलिङको आवश्यकतालाई अवमूल्यन गर्यौं। प्रधानमन्त्री, मन्त्री, पालिका र प्रदेशमा निर्वाचित हुने कुरालाई नै रणनीति जस्तो बनायौं। मेरो विचारमा कम्युनिस्टको गल्ती त्यहीँ भयो,” उहाँले भन्नुभयो।