सीमामा अब गृहमन्त्री होइन, सादा पोशाकको विशेष टोली परिचालन गरिने

1.4k Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं जाने अभ्यासभन्दा सादा पोशाकमा परिचालित विशेष कार्यदल (स्पेशल टास्क फोर्स) खटाउने तयारी गरिएको बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सीमा नाकाको वास्तविक अवस्था बुझ्न र जनताका समस्या प्रत्यक्ष रूपमा अध्ययन गर्न विशेष टोली परिचालन गरिने जानकारी दिए।

उनका अनुसार गृहमन्त्रीको भ्रमणका बेला अत्यधिक भीडभाड हुने र नियमित अनुगमनमा समेत असहजता सिर्जना हुने भएकाले अब मन्त्रालयस्तरीय विशेष टोलीलाई सादा पोशाकमा सीमा क्षेत्रमा परिचालन गर्ने योजना बनाइएको हो। उनले यसबाट सीमावर्ती नागरिकका समस्या नजिकबाट बुझ्न र प्रभावकारी निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरे।

गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिमलाई गृह मन्त्रालयको विशेष प्राथमिकतामा राखिएको पनि बताए। ती क्षेत्रका नागरिकले लामो समयदेखि विकास र सेवा प्रवाहमा अपेक्षित उपलब्धि महसुस गर्न नसकेको उल्लेख गर्दै अब त्यहाँका जनताको समस्या समाधानमा सरकार गम्भीर रहेको उनको भनाइ थियो।

उनले विगतमा ती क्षेत्रका नागरिकका पीडालाई राजनीतिक रूपमा प्रयोग गरिएको उल्लेख गर्दै अब त्यसको अन्त्य हुनुपर्ने धारणा राखे। सरकारको उद्देश्य जनताको समस्या समाधान गर्नु रहेको भन्दै उनले कार्यान्वयनका क्रममा देखिएका कमजोरीलाई क्रमशः सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार