मुगु । लगातारको वर्षापछि आएको पहिरोले नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो।
स्थानीयवासी रतन रावलका अनुसार सडक अवरुद्ध भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यात्रुहरू गन्तव्यमा पुग्न नसक्दा सास्ती भोग्न बाध्य भएका छन्।
सडक डिभिजन कार्यालयका सुपरभाइजर जग्गी मल्लका अनुसार प्रारम्भमा सानो जेसीपी प्रयोग गरी पहिरो हटाउने प्रयास गरिए पनि ठूलो परिमाणमा ढुङ्गा र माटो खसेकाले काम प्रभावकारी हुन सकेन।
उनले मौसमले साथ दिएमा सडक पुनः सञ्चालनमा आउन अझै दुईदेखि तीन दिन लाग्न सक्ने अनुमान गरिएको जानकारी दिए।
यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार छायाँनाथ रारा नगरपालिका–७ स्थित पिना चौकीका सुरक्षाकर्मी र निर्माण व्यवसायीको जेसीपी प्रयोग गरी पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी भण्डारीले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न र सम्बन्धित निकायबाट आधिकारिक सूचना आएपछि मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
लगातारको वर्षा र पहिरोका कारण कर्णालीका पहाडी सडकहरू उच्च जोखिममा रहेकाले यात्रामा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।