सुनसरी । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेपछि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ।
हातहतियारसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनका अनुसार सेनाको उपस्थितिपछि कप्तानगञ्जको अवस्था क्रमशः नियन्त्रणमा आउँदै गएको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा निकायले स्थिति सामान्य बनाउन आवश्यक प्रयास गरिरहेको बताए। कर्फ्यु जारी रहे पनि केही स्थानमा प्रदर्शन जारी रहेको उनले जानकारी दिए।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्यु उल्लंघन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा नलाग्न आग्रह गरेको छ। सुरक्षा निकायले क्षेत्रको अवस्थालाई नजिकबाट निगरानी गर्दै शान्ति–सुरक्षा कायम गर्न आवश्यक कदम चालिरहेको जनाएको छ।