भारत भ्रमणपछि स्वदेश फर्किए प्रधान न्यायाधीश शर्मा

1.5k Shares

काठमाडौं । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा चारदिने भारत भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन्। भारतीय सर्वोच्च अदालतका कार्यवाहक प्रधान न्यायाधीश सूर्य कान्तको निमन्त्रणामा उनी साउन ७ गते भारत प्रस्थान गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान न्यायाधीश शर्मालाई सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, न्याय परिषद्का पदाधिकारी, सर्वोच्च अदालतका उच्च अधिकारी तथा न्यायपालिकाका कर्मचारीहरूले स्वागत गरेका थिए।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश शर्मा र भारतीय समकक्षी सूर्य कान्तबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल र भारतबीच न्यायिक अनुभव आदानप्रदान, संस्थागत सहकार्य तथा न्याय प्रशासनलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

भ्रमणका क्रममा प्रधान न्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन गर्दै त्यहाँको न्याय सम्पादन प्रणाली, प्रशासनिक अभ्यास तथा अदालत सञ्चालनका विभिन्न पक्षबारे जानकारी लिएका थिए।

सर्वोच्च अदालतका अनुसार उक्त भ्रमणले नेपाल र भारतका सर्वोच्च अदालतबीचको संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने तथा न्यायिक क्षेत्रमा अनुभव आदानप्रदान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रधान न्यायाधीश शर्माको भ्रमण टोलीमा उनकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती पनि सहभागी थिए।

सम्बन्धित समाचार