मोरङमा अर्को सूचना नभएसम्म डिजे बजाउन रोक, प्रशासनको उल्लंघन गरे कारबाही हुने

1.3k Shares

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजे (डीजे) प्रयोगमा रोक लगाएको छ। शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म कुनै पनि कार्यक्रम वा समारोहमा डिजे बजाउन नपाइने प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सार्वजनिक सूचनाअनुसार जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि सार्वजनिक कार्यक्रममा पूर्वस्वीकृति वा छुट्टै अनुमति नलिई डिजे प्रयोग गर्न निषेध गरिएको छ।

प्रशासनले सूचनाको अवज्ञा गर्दै डिजे प्रयोग गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लावासी, आयोजक तथा सम्बन्धित सबै पक्षलाई जारी सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै शान्ति–सुरक्षा, सामाजिक सद्भाव र सार्वजनिक सुव्यवस्था कायम राख्न सबैको सहयोग आवश्यक रहेको प्रशासनले उल्लेख गरेको छ।

प्रशासनको यो निर्णयसँगै मोरङ जिल्लाभित्र हुने सार्वजनिक तथा निजी समारोहमा डिजे सञ्चालन गर्न चाहने आयोजकहरूले सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिनुपर्ने वा अर्को आधिकारिक सूचना नआएसम्म डिजे प्रयोग नगर्नुपर्ने भएको छ।

सम्बन्धित समाचार