सभामुखसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट
1.6k
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै समसामयिक राजनीतिक अवस्था, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल गरेका छन्।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए।
भेटका क्रममा उनले पाँचथरसहित देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन संसद् र सरकारले समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।
आङ्देम्बेले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाप्रति पनि सभामुखको ध्यानाकर्षण गराएका थिए। स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै अस्पतालहरूमा स्वास्थ्य सेवा अवरुद्ध हुन नदिने वातावरण बनाउन आवश्यक पहल गर्न उनले आग्रह गरेका छन्।
उनको सचिवालयका अनुसार भेटमा संसद्को प्रभावकारी सञ्चालन, राष्ट्रिय महत्वका विषयमा सहकार्य तथा नागरिकका समस्या समाधानमा संसद्को सक्रिय भूमिका आवश्यक रहेको विषयमा पनि छलफल भएको थियो।
हाल सुनसरीको सुरक्षा अवस्था, विभिन्न जिल्लामा आएको प्राकृतिक विपद् र नारायणी अस्पताल घटनापछि उत्पन्न स्वास्थ्य सेवा संकट राष्ट्रिय बहसका प्रमुख विषय बनेका बेला कांग्रेस संसदीय दलका नेताले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।