काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी विशिष्ट श्रेणीका सल्लाहकारमा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन्।
मन्त्री श्रेष्ठले मंगलबार कँडेललाई नियुक्तिपत्र हस्तान्तरण गर्दै ऊर्जा क्षेत्रको नीति निर्माण, पूर्वाधार विकास तथा क्षेत्रीय ऊर्जा व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
ऊर्जामन्त्रीको सचिवालयका अनुसार सल्लाहकारको जिम्मेवारी सम्हाल्दै कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षालाई केन्द्रमा राखेर नीति तर्जुमा, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श दिनेछन्।
यसका साथै उनले क्षेत्रीय ऊर्जा बजारसँग नेपालको एकीकरण, सीमा–पार ऊर्जा व्यापार विस्तार तथा बृहत् ऊर्जा व्यापार सुधारका कार्यक्रमलाई अघि बढाउन पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विवेक राज कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन्। उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्नमेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासन (एमपीए) मा स्नातकोत्तर गरेका छन्।
त्यसैगरी, उनले नेदरल्यान्ड्सस्थित युनिभर्सिटी अफ ट्वान्टेबाट ऊर्जा व्यवस्थापन (इनर्जी म्यानेजमेन्ट) मा पनि स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
कँडेलसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक, अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आईरेना) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी समय ऊर्जा, पूर्वाधार तथा विकासका क्षेत्रमा काम गरेको अनुभव रहेको मन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले ऊर्जा उत्पादन, प्रसारण, आन्तरिक खपत तथा विद्युत् निर्यातलाई प्राथमिकतामा राखिरहेको समयमा कँडेलको नियुक्तिलाई ऊर्जा क्षेत्रको नीतिगत क्षमता सुदृढ बनाउने कदमका रूपमा हेरिएको छ।