काठमाडौं । विश्व बैंकको अनुदान सहयोगमा निर्माण भइरहेको तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजना पराशर मार्ग स्तरोन्नति निर्माण कार्य लामो समयदेखि अलपत्र परेपछि नगरपालिकाले निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्ट कार्ययोजना र लिखित प्रतिबद्धतासहित उपस्थित हुन निर्देशन दिएको छ।
निर्माण कम्पनी बिकेएचटिडिसिएल–एसिपिएल जेभी, कालीमाटी ले दोस्रो पटक थपिएको म्याद सकिँदासमेत आयोजनाको भौतिक प्रगति करिब ४९ प्रतिशत मात्र पुर्याएपछि नगरपालिकाले कडा कदम चालेको हो।
नगर प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले कामलाई गति नदिएपछि सार्वजनिक खरिद नियमावलीअनुसार सात दिनको अन्तिम समय दिइएको हो।
‘स्थानीयको सुविधा र नगरको विकाससँग जोडिएको गौरवको आयोजना यसरी अलपत्र पार्न मिल्दैन,’ उनले भने, ‘सात दिनभित्र स्पष्ट कार्ययोजना र लिखित प्रतिबद्धता नआए ठेक्का सम्झौता रद्द गर्ने वा जरिवाना गर्ने कानुनी प्रक्रिया अघि बढाउँछौं।’
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले पनि दोस्रो पटक थपिएको म्यादसमेत सकिइसकेकाले अब थप ढिलाइ स्वीकार गर्न नसकिने बताए।
उनका अनुसार नगरपालिकाले निर्माण कम्पनीलाई निरन्तर सहजीकरण र ताकेता गर्दै आए पनि कामको प्रगति अपेक्षाअनुसार हुन सकेको छैन।
व्यास नगरपालिका–७, ९, १० र ११ लाई जोड्ने १०.५५ किलोमिटर लामो पराशर मार्ग बुल्दीखोला, बेलटारी, फराकचौर, अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता विद्यालय हुँदै कलेस्ती जोड्ने प्रमुख सडक हो।
तर हालसम्म घाँसीकुवा–पराजुली चोक खण्डको करिब डेढ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ।
करिब ५२ करोड ७८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का निर्माण कम्पनीले ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँ मा प्राप्त गरेको थियो। उक्त ठेक्का लागत अनुमानभन्दा २३.४१ प्रतिशत कम मूल्यमा सम्झौता गरिएको थियो।
आयोजना २०८० जेठमा सुरु भई २०८२ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर काम समयमै पूरा नभएपछि पहिलो पटक २०८२ चैत मसान्त र दोस्रो पटक २०८३ असार मसान्तसम्म म्याद थपिएको थियो।
दोस्रो पटकको समयसीमा पनि सकिँदा आधाभन्दा कम काम सम्पन्न भएपछि नगरपालिकाले अब निर्माण कम्पनीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने संकेत दिएको छ।