पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति सम्मान, पुतलीबजारमा एक दिन सार्वजनिक बिदा
1.5k
Shares
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको शोकमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।
मंगलबार निधन भएका श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नगरपालिकाभित्र रहेका सबै सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक निकायमा एक दिन बिदा दिइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए।
पुतलीबजार नगरपालिका–३ का स्थायी बासिन्दा रहेका श्रेष्ठले स्याङ्जाको समग्र विकास र राष्ट्रिय राजनीतिमा पुर्याएको योगदानको सम्मानस्वरूप सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले मंगलबार जारी गरेको शोक वक्तव्यमा श्रेष्ठको निधनले स्याङ्जा जिल्ला मात्र नभई समग्र राष्ट्रले अनुभवी राजनीतिक नेतृत्व गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति भनेको छ।
यसैबीच, श्रेष्ठको निधनप्रति स्याङ्जाका विभिन्न राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रबाट शोक व्यक्त गरिएको छ।
श्रेष्ठ स्याङ्जा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुनुका साथै जिल्लाका विभिन्न शैक्षिक संस्थाको नेतृत्वदायी भूमिकामा समेत सक्रिय रहनुभएको थियो। उहाँ स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने मन्त्री र उपप्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।