माइतीघरको डुबान रोक्न काठमाडौं महानगरको पहल, ढल निकास विस्तारको काम सुरु

1.5k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा वर्षेनि दोहोरिने डुबान र ढल निकासको दीर्घकालीन समस्या समाधानका लागि ढल निकास विस्तार तथा सफाइको काम सुरु गरेको छ। महानगरले माइतीघरबाट आर्मी मुख्यालयतर्फ जाने क्षेत्रमा रहेको ढल तथा नालाको अवरोध हटाउने अभियान अघि बढाएको हो।

यसअन्तर्गत डोजर प्रयोग गरी पुरिएको नाला खोल्ने, ढल सफा गर्ने तथा पानीको निकास सहज बनाउने काम भइरहेको महानगरले जनाएको छ। बर्खायाममा माइतीघर क्षेत्रमा बारम्बार हुने जलमग्न अवस्थालाई दीर्घकालीन रूपमा अन्त्य गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

हालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले गरेको अध्ययनले माइतीघरको डुबान प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण र संरचनागत अतिक्रमणको संयुक्त परिणाम भएको निष्कर्ष निकालेको थियो। टोलीले साउन ६ गते स्थलगत निरीक्षण गरेपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनअनुसार विगतमा माइतीघर चोक नजिकको होचो तथा खाली जमिनले प्राकृतिक जलाशयको काम गर्थ्यो। थापाथली हाइट, सिंहदरबार र बबरमहलजस्ता उच्च भूभागबाट बगेर आउने वर्षाको पानी त्यही क्षेत्रमा जम्मा हुने र केही समय रोकिएर जमिनमुनि सोसिने व्यवस्था थियो।

तर पछि सोही स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालयका बहुतले भवन निर्माण भएपछि प्राकृतिक जलाशय पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनले उल्लेख गरेको छ। कङ्क्रिट संरचनाले पानी सोस्ने प्राकृतिक प्रणाली समाप्त भएपछि वर्षा हुनासाथ सम्पूर्ण पानी माइतीघर चोकमा जम्मा हुने अवस्था सिर्जना भएको अध्ययनले देखाएको छ।

प्रतिवेदनले ढलको संरचनागत कमजोरीलाई पनि डुबानको प्रमुख कारणका रूपमा औँल्याएको छ। माइतीघरको मुख्य ढलको माथिल्लो भाग र निकासमा ९०० मिलिमिटर व्यास भए पनि बीचको भागमा त्यो घटेर ६०० मिलिमिटर मात्रै रहेको छ। यसका कारण ढलमा ‘बोटलनेक’ प्रभाव सिर्जना भई पानी सहज रूपमा बग्न नसक्दा वर्षाको समयमा सडक डुब्ने समस्या बढेको निष्कर्ष निकालिएको छ।

यही प्राविधिक सुझावका आधारमा काठमाडौं महानगरपालिकाले ढलको निकास क्षमता विस्तार, अवरोध हटाउने तथा दीर्घकालीन रूपमा वर्षाको पानी सहज निकास हुने संरचना निर्माणलाई तीव्रता दिएको जनाएको छ। महानगरले यसबाट आगामी वर्षायाममा माइतीघर क्षेत्रको डुबान समस्या उल्लेखनीय रूपमा न्यूनीकरण हुने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार