काठमाडौं। गुरु पूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषले काठमाडौं महानगरभित्रका परम्परागत ६३ वटा त्वाः गुठीका मूल गुरुहरूको सम्मान तथा सामूहिक गुरुपूजा कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा परम्परागत संस्कृति र संस्कारको संरक्षण तथा पुस्तान्तरणमा योगदान पुर्याउने गुरुहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र संस्कार सिकाउने गुरुहरूको सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले संस्कृति र संस्कारको प्रभावकारी पुस्तान्तरणले सभ्य, अनुशासित र सकारात्मक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
डंगोलले संस्कृति संरक्षणका लागि आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै आर्थिक अवस्था कमजोर हुँदा सांस्कृतिक सम्पदाको संरक्षणमा चुनौती थपिने बताउनुभयो। उहाँले काठमाडौं महानगर दिवसको अवसरमा महानगरपालिकाले प्रदान गर्दै आएको संस्कृति संरक्षण अनुदान तथा गुरु भत्तामा वृद्धि गरिने जानकारी पनि दिनुभयो।
ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले कोष स्थापना भएदेखि नै गुरु सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै मौलिक संस्कृति जोगाउन योगदान दिने गुरुहरूलाई सम्मान गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो।
कार्यक्रममा विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले नेपालको मौलिक संस्कृति, धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्ने उद्देश्यका साथ गुरुपूजा कार्यक्रम विगत २४ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। साथै, २२औँ ज्यापु दिवस सफल बनाउन सहयोग गर्ने नरत्वाः लायलाई धन्यवाद दिँदै आगामी २३औँ ज्यापु दिवसको संयोजन गर्ने ग्वल टोल पशुपतिलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।
ज्यापु संस्कृति विकास कोषले प्रत्येक वर्ष गुरु पूर्णिमाका अवसरमा परम्परागत गुरुहरूको सम्मान गर्दै सांस्कृतिक सम्पदा संरक्षण र नयाँ पुस्तामा मौलिक परम्पराको हस्तान्तरणलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।