काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देश सञ्चालन गर्न नसक्ने अवस्था भए जिम्मेवारीबाट पछि हट्न सरकारलाई आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले पछिल्लो समय देशमा बढ्दो तनाव र हिंसात्मक गतिविधिप्रति सरकार संवेदनशील नभएको आरोप लगाए। सरकार वास्तविक अवस्थाप्रति बेखबर रहेको भन्दै उनले नागरिकलाई भने संयमित र जिम्मेवार बन्न आग्रह गरे।
उनले सरकारलाई लक्षित गर्दै भने, “सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाउन पाइन्छ। अभिभावकविहीन बनाएर देश चलाउन पाइँदैन। कि त अन्धकारबाट बाहिर निस्कनुपर्यो, कि सकिनँ भनेर हात ठडाउनुपर्यो।”
सांसद राईले प्रतिनिधिसभामा सरकारसँग पर्याप्त बहुमत हुँदाहुँदै पनि प्रभावकारी ढंगले शासन सञ्चालन गर्न नसकेको टिप्पणी गरे। वर्तमान संकटप्रति सरकार गम्भीर नदेखिएको भन्दै उनले सरकारले जिम्मेवारी बहन गर्न नसके पद छाड्नुपर्ने धारणा व्यक्त गरे।
उनले भने, “सरकारबाट तपाईं निस्कनुपर्छ। अन्धकारमा बसेर दूरबिन लगाएर देश ठीक छ भन्न पाइँदैन। देश संकटतर्फ जाने अवस्था छ तर सरकार बेखबर छ।”
सांसद राईले सरकार बेखबर भए पनि नागरिकले विवेक गुमाउन नहुने उल्लेख गर्दै सबैलाई संयम अपनाउन आग्रह गरे। उनले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।