धार्मिक सद्भाव बिगार्ने गतिविधिबाट सचेत रहन शशाङ्कको अपिल

1.8k Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता जोगाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले नेपालको विविधता नै देशको शक्ति भएकाले कुनै पनि प्रकारका धार्मिक, जातीय वा साम्प्रदायिक द्वन्द्व निम्त्याउने गतिविधि स्वीकार्य नहुने बताएका हुन्।

उनले केही दिनयता विभिन्न स्थानमा भएका घटनापछि सामाजिक सद्भाव खल्बलिने खालका अभिव्यक्ति र गतिविधि बढिरहेको उल्लेख गर्दै संयमता अपनाउन सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज तथा सर्वसाधारणसँग आग्रह गरेका छन्।

कोइरालाले संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता, सहिष्णुता र सामाजिक सद्भावको भावनालाई व्यवहारमा कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। उनले कुनै पनि घटना वा विवादलाई धार्मिक वा साम्प्रदायिक रंग दिएर समाजमा विभाजन सिर्जना गर्ने प्रयास नगर्न आग्रह गरेका छन्।

उनले शान्ति, सद्भाव र पारस्परिक विश्वास कायम राख्दै कानुनी शासनको सम्मान गर्न तथा अफवाह र उत्तेजनात्मक प्रचारबाट टाढा रहन पनि सबैलाई अनुरोध गरेका छन्।

साथै, कोइरालाले सरकारसँग पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा शान्ति सुरक्षा प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनले सबै समुदायबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

पछिल्ला केही दिनयता सुनसरी, सिराहा, धनुषालगायत तराईका विभिन्न जिल्लामा भएका घटनापछि उत्पन्न तनावका बीच नेता कोइरालाले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका हुन्।

 
 
 
सम्बन्धित समाचार