आगो लगाउने खोज्नेभन्दा निभाउने काममा लाग्नुपर्छ : गगन थापा

1.9k Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा देखिएको सामाजिक तथा साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अहिले आगो कसले लगायो भन्नेभन्दा त्यसलाई निभाउने काममा सबै पक्ष लाग्नुपर्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले कुनै पनि बहानामा समाजमा द्वन्द्व, घृणा र विभाजन फैलाउने प्रयास स्वीकार्य नहुने बताए। उनले अहिलेको परिस्थितिमा संयमता, संवाद र आपसी विश्वासलाई बलियो बनाउनु नै सबैभन्दा ठूलो जिम्मेवारी भएको उल्लेख गरेका छन्।

आगो जसले लगाएको भए पनि अहिले हाम्रो दायित्व त्यसलाई निभाउने हो, भन्दै थापाले राजनीतिक दल, सरकार, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिक सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

थापाले पछिल्ला घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना, उत्तेजक अभिव्यक्ति र घृणायुक्त प्रचारप्रति पनि सचेत रहन आग्रह गरेका छन्। यस्ता गतिविधिले समाजमा थप अविश्वास र द्वन्द्व निम्त्याउने भएकाले तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न उनले आग्रह गरेका छन्।

उनले कानुन हातमा नलिन, अफवाहको पछि नलाग्न र स्थानीय प्रशासनसँग समन्वय गर्दै शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्।

थापाले घटनामा संलग्न जो–कोही भए पनि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्दै निर्दोष नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनले पीडितलाई न्याय र दोषीलाई कानुनी कारबाही दिलाउने दायित्व राज्यको भएको उल्लेख गरे।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नेपालको पहिचान भएको उल्लेख गर्दै थापाले कुनै पनि प्रकारको हिंसा वा विभाजनकारी गतिविधिले कसैको हित नगर्ने बताए। उनले सबैलाई धैर्य, संयमता र जिम्मेवारीका साथ वर्तमान परिस्थितिको सामना गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार