मधेशमा जनजीवन सामान्य बन्दै, लामो दूरीका बस पुनः सञ्चालनमा

1.8k Shares

सर्लाही । मधेश प्रदेशका विभिन्न जिल्लामा आन्दोलनको प्रभाव कम हुँदै गएसँगै लामो दूरीका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन्। शनिबारदेखि बस सेवा क्रमशः सुचारु हुन थालेपछि यात्रुले राहत महसुस गरेका छन्।

बिहीबार र शुक्रबार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन नहुँदा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने यात्रु समस्यामा परेका थिए। तर शनिबारदेखि बस सेवा पुनः सञ्चालनमा आएपछि जनजीवन सामान्य बन्दै गएको हो।

सर्लाहीका बस व्यवसायी दीपलाल महतोका अनुसार वीरगञ्ज, बर्दिवास र जनकपुरतर्फका बस नियमित सञ्चालनमा आइसकेका छन्। ढल्केबरदेखि पूर्वतर्फ पनि अवस्था क्रमशः सहज बन्दै गएकाले त्यतातर्फ पनि बस सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।

यद्यपि सिराहा, सप्तरी, सुनसरी र विराटनगरलगायत पूर्वी जिल्लातर्फ लामो दूरीका बस अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। ती क्षेत्रमा भने हायस र विङ्गरजस्ता साना सवारी साधनले फाट्टफुट्ट रूपमा यात्रु ओसारपसार गरिरहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माले शनिबारदेखि महेन्द्र राजमार्गसहित भित्री सडकमा सवारी साधनको चाप बढ्न थालेको जानकारी दिए। उनका अनुसार स्थानीय रुटका टेम्पु, म्याजिक, जीप, बोलेरो र बस भने नियमित रूपमा सञ्चालन भइरहेका छन्।

काठमाडौं आउने–जाने रात्रिकालीन बस सेवा पनि प्रभावित नभएको लालबन्दीस्थित नाइट बस काउन्टरका सञ्चालक विजय लामाले बताए। उनका अनुसार शनिबारदेखि सदरमुकामबाट छुट्ने बसको टिकट बुकिङसमेत पुनः सुरु गरिएको छ।

यातायात सेवा मात्र होइन, मधेशका बजार क्षेत्र पनि विस्तारै पुरानै लयमा फर्किन थालेका छन्। सर्लाहीमा शुक्रबारको प्रदर्शनपछि बन्द भएका बरहथवा, बयलवास र मलङ्गवा बजार शनिबारदेखि पुनः खुलेका छन्। सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले आन्दोलनको प्रभाव घट्दै जाँदा जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै गएको बताए।

सम्बन्धित समाचार