देशका प्रमुख राजमार्ग प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

2.5k Shares

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने बाढीको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नेपाल प्रहरीले आइतबार बिहान ६ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा वर्षापछि सडक हिलाम्मे बनेकाले सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको जिरोकिलो र कोदारी खण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाले कटान गरेपछि त्यहाँ पनि यातायात ठप्प भएको छ । त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पनि अवरुद्ध बनेको छ। गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मनसुन सक्रिय रहेकाले पहिरो, बाढी र सडक कटानको जोखिम अझै कायम रहेको भन्दै यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार