काठमाडौं । राजधानी उपत्यकामा महिला र वृद्धालाई लक्षित गरी सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्दै आएको ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै उपत्यकामा पछिल्लो समय बढ्दै गएको सिक्री लुटपाटमा संलग्न समूहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा काठमाडौं उपत्यकामा भएका विभिन्न सिक्री लुटपाटका घटनामा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेपछि समूहका सदस्यहरूको खोजी तीव्र पारिएको थियो।
खोजतलासका क्रममा काठमाडौंको कोटेश्वर, नयाँ बानेश्वर, टोखा तथा काभ्रेको बनेपामा भएका लुटपाट घटनामा प्रत्यक्ष संलग्न चार जनालाई बनेपाबाट पक्राउ गरिएको थियो।
त्यसपछि थप अनुसन्धानका क्रममा समूहका नाइके सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका ३४ वर्षीय कर्मा तामाङलाई शनिबार राति बूढानीलकण्ठ–१३, चुनिखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा कर्मा तामाङले साथमा रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गर्दा पनि मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि एक राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको थियो। घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घटनास्थलबाट एउटा मोटरसाइकल, एउटा खुकुरी, पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरी गर्न प्रयोग हुने टी–लक, मास्टर कीलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसन्धानअनुसार समूहले महिला तथा वृद्धाको गतिविधि निगरानी गरी उनीहरूलाई लक्षित बनाउने गरेको थियो। प्रतिकार गरे घाँटी थिच्ने, लछारपछार गर्ने, कुटपिट गर्ने र सुनका सिक्री तथा गरगहना लुटेर मोटरसाइकलमा फरार हुने शैली अपनाउने गरेको खुलेको छ।
समूहले मुख्य रूपमा २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्ने र घटना सम्पन्न भएपछि पुनः नम्बर प्लेट तथा स्वरूप परिवर्तन गरी उपत्यकाबाहिर सस्तो मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार समूह शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा, धापासीलगायत क्षेत्रमा भएका सिक्री लुटपाटका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले बाटो सोध्ने बहानामा पीडितलाई रोक्ने, पछाडिबाट आक्रमण गर्ने र सुनका सिक्री लुटेर मोटरसाइकलमा फरार हुने गरेको प्रहरीले जनाएको छ।
यस प्रकरणमा पक्राउ पर्नेमा समूहका नाइके कर्मा तामाङ, प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरुङ तथा मनोज तामाङ रहेका छन्।
प्रहरीका अनुसार प्रतिमान गोले डाँका तथा चोरी मुद्दाका अभियुक्त हुन् भने पासाङ घिसिङ काठमाडौं उपत्यकामा २० भन्दा बढी मोटरसाइकल चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मनोज तामाङले लुटिएका सुनका गरगहना गलाएर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको आरोप छ।
प्रहरीले कर्मा तामाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी विभिन्न मुद्दामा पक्राउ परेका, प्रहरी हिरासतबाट फरार भएका र त्यसपछि पुनः सिक्री लुटपाटमा सक्रिय भएको जनाएको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।