म्याग्दी । लगातार भारी वर्षाको पूर्वानुमानपछि म्याग्दीका दुई प्रमुख सडकमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडक र बेनी–दरबाङ सडकमा आइतबार र सोमबार साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।
प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार सम्भावित पहिरो, ढुंगा खस्ने तथा बाढीजन्य जोखिमलाई मध्यनजर गर्दै यात्रु र सवारीसाधनको सुरक्षाका लागि रातिको समयमा यातायात बन्द गर्ने निर्णय गरिएको हो।
बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्ने महत्त्वपूर्ण मार्ग हो। यही सडकमार्फत मुस्ताङ, मुक्तिनाथ तथा कोरला नाका जाने यात्रु तथा सवारी आवागमन हुने गर्छ। त्यसैगरी, पश्चिम म्याग्दीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द रहनेछ।
प्रशासनले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न तथा मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। साथै, मौसममा सुधार आएपछि सडक सञ्चालनको अवस्थाबारे थप निर्णय गरिने जनाइएको छ।