काठमाडौं । नेपाली क्रिकेटले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएपछि पहिलो ऐतिहासिक जित हासिल गरेको आठ वर्ष पूरा भएको छ।
सन् २०१८ अगस्ट ३ मा नेदरल्यान्ड्सलाई एक रनले पराजित गर्दै नेपालले आफ्नो ओडीआई इतिहासमा पहिलो जित दर्ता गरेको थियो। त्यसयता नेपालले ९३ ओडीआई खेल खेल्दै ४४ जित, ४६ हार, एक बराबरी र दुई खेल नतिजाविहीन बनाएको छ।
नेपालले ओडीआई यात्रा भने सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्धकै खेलबाट सुरु गरेको थियो। पहिलो खेलमा १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिँदै पराजित भएको थियो। तर दुई दिनपछि भएको दोस्रो खेलमा कप्तान पारस खड्काको उत्कृष्ट नेतृत्वमा नेपालले रोमाञ्चक पुनरागमन गर्दै एक रनको ऐतिहासिक जित निकाल्यो।
नेपालले दिएको २१६ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो। कप्तान पारस खड्काले पहिलो पाँच बलमा विपक्षीलाई नियन्त्रणमा राखे। अन्तिम बलमा दुई रन आवश्यक पर्दा रनआउट गर्दै उनले नेपाललाई ऐतिहासिक जित दिलाएका थिए।
त्यो रनआउट नेपाली क्रिकेट इतिहासकै सबैभन्दा स्मरणीय क्षणमध्ये एक मानिन्छ। बल स्टम्पमा नलागी अगाडि बढेपछि पारसले बल टिपेर विकेट उखेल्दै रनआउट गरेका थिए। यदि त्यो अवसर चुकिएको भए खेलको नतिजा फरक हुन सक्थ्यो।
ओडीआई मान्यता पाउँदा पारस खड्का नेपालको कप्तान थिए। उनले ६ खेलमा तीन जित दिलाए। त्यसपछि ज्ञानेन्द्र मल्लले १० खेलमा ६ जित निकाले।
सन् २०२२ मा सन्दीप लामिछाने कप्तान बने भने त्यसै वर्ष रोहित पौडेलले कप्तानी सम्हाले। हाल पनि रोहित ओडीआई टोलीका कप्तान छन्।
कप्तानीअनुसार नेपालको प्रदर्शन:
नेपालले सबैभन्दा धेरै १९ ओडीआई यूएईसँग खेलेको छ। त्यसमा ११ जित र आठ हारको नतिजा निकालेको छ।
अन्य प्रमुख टोलीविरुद्ध नेपालको प्रदर्शन:
भारत, पाकिस्तान, आयरल्यान्ड, वेस्ट इन्डिज र जिम्बाब्वेसँग खेलेका एक–एक ओडीआईमा भने नेपाल पराजित भएको छ।
नेपालको ओडीआई यात्राको सबैभन्दा ठूलो विशेषता घरेलु मैदानको उत्कृष्ट प्रदर्शन हो। नेपालमा खेलेका ३४ खेलमध्ये २४ जित हात पारेको टोलीले केवल १० खेल गुमाएको छ।
तर विदेशी भूमिमा भने प्रदर्शन कमजोर देखिएको छ। ५९ खेलमा नेपालले २० जित, ३६ हार, एक बराबरी र दुई खेल नतिजाविहीन बनाएको छ।
हालै नेदरल्यान्ड्समा सम्पन्न क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले चारै खेल गुमाएको थियो। त्यसअघि यूएईमा भएको शृङ्खलामा पनि नेपाल चारै खेलमा पराजित भएको थियो। यसले बाहिरी कन्डिसनमा नेपालको चुनौती अझ स्पष्ट पारेको छ।
जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चारमा पर्ने नेपालको सम्भावना निकै कमजोर बनेको छ। अब टोलीको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु रहेको छ।
त्यसका लागि बाँकी रहेका चारवटै खेल विदेशी भूमिमा खेल्नुपर्ने भएकाले राम्रो प्रदर्शन गर्नु नेपालका लागि अत्यन्त महत्वपूर्ण हुनेछ।

रोहित पौडेलकै नाममा नेपालको ओडीआईमा सर्वाधिक व्यक्तिगत स्कोर (१२६ रन) पनि रहेको छ। यस्तै रोहित, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई शतक बनाउँदै सर्वाधिक शतक प्रहार गर्ने संयुक्त कीर्तिमान कायम गरेका छन्।
नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एक रनको जितबाट सुरु भएको नेपालको ओडीआई यात्रा आठ वर्षमा ९३ खेलसम्म आइपुगेको छ। यस अवधिमा नेपाली क्रिकेटले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
तर विदेशी भूमिमा निरन्तर कमजोर प्रदर्शनले ओडीआई मान्यता जोगाउने चुनौती थपिएको छ। अब घरेलु सफलतालाई विदेशमा पनि दोहोर्याउन सके मात्र नेपालको ओडीआई यात्राले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।