सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ मा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ। प्रारम्भमा चार जना बेपत्ता भएको आशंका गरिए पनि प्रहरीले हालसम्म तीन जना मात्रै कारसहित नदीमा बेपत्ता भएको पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी तथा कार चालक दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय स्काभेटर चालक गणेश थापा र सिन्धुलीको तीनपाटन गाउँपालिका–९ निवासी सुरज मगर रहेका छन्। उनीहरू कारसहित सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११:४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक छेउमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार चालक लामा मध्यपहाडी लोकमार्ग पुनःनिर्माण आयोजनाको ठेक्का लिएर काम गरिरहेका निर्माण व्यवसायी थिए। सोही क्रममा सडक किनारमा रोकिएको कार बसले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।