तीन वर्ष जेल बसेका जयसवाल पुनः लागुऔषधसहित पक्राउ

1.4k Shares

नेपालगन्ज । बाँकेको नेपालगन्ज क्षेत्रमा प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यसअघि लागुऔषध मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरिसकेका एक व्यक्ति पनि रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अरुणकुमार जयसवाल र नेपालगन्ज–४ का ३० वर्षीय सुशील भण्डारी रहेका छन्। उनीहरूको साथबाट कुल ५२६ ग्राम २९० मिलिग्राम खैरो हेरोइन (ब्राउनसुगर) बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सोमबार नेपालगन्ज–४ स्थित न्युरोडमा रहेको रणबहादुर केसीको घरबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतको बहराइचबाट ब्राउनसुगर खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरणका लागि ल्याइएको सूचनापछि उनीहरूमाथि निगरानी बढाइएको थियो।

प्रारम्भिक खानतलासीका क्रममा प्रहरीले १३६ ग्राम ८५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। त्यसपछि अनुसन्धान विस्तार गर्दै अरुणकुमार जयसवालको घरमा गरिएको खानतलासीमा दराजभित्र लुकाएर राखिएको थप ३८९ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट एक थान डिजिटल तराजु, दुई थान मोबाइल फोन, एक लाख ८० हजार रुपैयाँ नेपाली नगद र दुई लाख एक हजार ४०० भारतीय रुपैयाँ समेत बरामद गरेको छ। नेपाली र भारतीय मुद्रासहित बरामद भएको नगदको कुल मूल्य करिब पाँच लाख दुई हजार २४० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद नगद तथा सामग्री लागुऔषध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा आर्थिक कारोबारको पाटोसमेत अनुसन्धानको दायरामा राखिएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका अरुणकुमार जयसवाल यसअघि २०७५ असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। उक्त मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका उनी पुनः लागुऔषध कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार