झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेमाथि कानुनी कारबाही हुने

1.2k Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा नक्कली अभिलेख पेस गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

समितिले बुधबार जारी गरेको सूचनामा जग्गा प्राप्त गर्ने उद्देश्यले आफ्नो वास्तविक विवरण लुकाउने, गलत विवरण दिने, नक्कली कागजात पेस गर्ने वा त्यस्ता विवरणका आधारमा जग्गा तथा संरचना प्राप्त गरेको वा प्राप्त गर्ने प्रयास गरेको पाइएमा सम्बन्धित व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ।

समितिका अनुसार झुटा विवरण प्रमाणित भएमा त्यस्ता विवरण सिफारिस गर्ने सिफारिसकर्तासमेत कानुनी कारबाहीको दायरामा आउनेछन्।

सूचनामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (घ) बमोजिम यस्ता कसुरमा सजायको व्यवस्था रहेको उल्लेख गरिएको छ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रिया निष्पक्ष, पारदर्शी र कानुनसम्मत बनाउन सबै सेवाग्राहीलाई सही, सत्य र प्रमाणित विवरण मात्र पेस गर्न समितिले आग्रह गरेको छ।

 
 
 
सम्बन्धित समाचार