रेडक्रसको खुला आह्वान : अनियमितता र भ्रष्टाचारबारे प्रमाणसहित उजुरी दिनुस्

2.2k Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थागत सुधार, सुशासन र पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यसहित मातहतका सबै तहमा भएका अनियमितता, भ्रष्टाचार र बेथितिबारे प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई खुला आह्वान गरेको छ।

मंगलबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत रेडक्रसले आफ्ना कुनै पनि निकायमा अनियमितता भएको जानकारी भए भदौ ३ गतेभित्र तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न आग्रह गरेको हो।

उजुरी तथा गुनासो अध्ययन–छानबिन समितिका संयोजक डा. दिपेश घिमिरेले संस्थामा विगतदेखि उठ्दै आएका गुनासा र अनियमितताका विषयमा निष्पक्ष छानबिन गरी सुशासन सुनिश्चित गर्न उजुरी संकलन अभियान थालिएको जानकारी दिनुभयो।

उहाँका अनुसार रेडक्रसको पुरानो विश्वसनीयता र साख पुनःस्थापित गर्ने लक्ष्यसहित यो कदम चालिएको हो। यसअघि उजुरीका लागि तोकिएको ३५ दिने अवधि समाप्त भइसकेकाले अब पुनः भदौ ३ गतेसम्म समय थप गरिएको छ।

घिमिरेले आधिकारिक इमेल तथा संस्थाले तोकेका अन्य माध्यममार्फत प्रमाणसहित उजुरी पठाउन आग्रह गर्दै उजुरीकर्ताको पहिचान गोप्य राख्न चाहेको अवस्थामा पूर्ण गोपनीयता सुनिश्चित गरिने बताउनुभयो।

‘अनियमिततामा शून्य सहनशीलता’

रेडक्रसले आफ्ना सबै संरचना र गतिविधिमा हुने भ्रष्टाचार, आर्थिक अनियमितता तथा बेथितिप्रति शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पारेको छ।

संस्थाले विभिन्न तहबाट आर्थिक अनियमितता, भ्रष्टाचार र व्यवस्थापकीय कमजोरीका गुनासा प्राप्त भइरहेकाले त्यसको यथार्थ छानबिन गर्न उजुरी संकलन प्रक्रिया अघि बढाइएको जनाएको छ।

पत्रकार सम्मेलनमा उजुरी तथा गुनासो अध्ययन–छानबिन समितिका सदस्य अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतीश सुवेदीको पनि उपस्थिति रहेको थियो। रेडक्रसले प्राप्त हुने सबै उजुरीलाई निष्पक्ष रूपमा अध्ययन गरी आवश्यक छानबिन र कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

सम्बन्धित समाचार