निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको आग्रह– ‘अब संसदमा यो विषय नउठाउनुस्’

1.9k Shares

राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्त हत्या प्रकरणबारे प्रश्न उठाउने सांसदलाई नै प्रतिप्रश्न गरेका छन्। साथै उनले उक्त विषय संसदमा पटक–पटक नउठाउन आग्रह पनि गरेका छन्।

प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लामो समय बित्दासमेत दोषी पहिचान हुन नसकेको भन्दै सरकारको जवाफ मागेका थिए। उनले न्याय नपाउनु राज्यको असक्षमता हो वा उदासीनता भन्ने प्रश्न पनि उठाएका थिए।

जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्न तथा आपराधिक घटनाको अनुसन्धानमा निरन्तर सक्रिय रहेको बताए। उनले हत्या, बलात्कारलगायतका संवेदनशील घटनाको अनुसन्धान चरणबद्ध रूपमा अघि बढिरहेको उल्लेख गरे।

यसक्रममा उनले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गर्दै विगतमा उनीहरू सत्ता पक्षमा रहेका बेला यो विषयमा किन आवश्यक काम गर्न नसकेको भनेर प्रश्न गरे।

गृहमन्त्री गुरुङले निर्मला पन्तको विषय अत्यन्त संवेदनशील भएकाले यसलाई बारम्बार संसदमा उठाउँदा पीडित परिवारको घाउ बल्झिने तर्क गरे। उनले अनुसन्धान प्रक्रियालाई प्रभावित नगरी सूक्ष्म ढङ्गले काम भइरहेको भन्दै परिणामका लागि समय दिनुपर्ने धारणा राखे।

उनले आफू धेरै बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै यो अनुसन्धानको विषय भएकाले आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताए।

अन्त्यमा गृहमन्त्री गुरुङले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई निर्मला पन्त प्रकरणलाई अब संसदमा पुनः नउठाइदिन आग्रह गरे। उनले अनुसन्धान जारी रहेकाले यस विषयमा अनावश्यक बहस नगर्न सांसदहरूसँग विनम्र अनुरोध गरेका छन्।

सम्बन्धित समाचार