नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्। उनी सोही दिन राति पौने १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
देउवाले यसअघि साउन ५ गते सार्वजनिक सन्देशमार्फत बीपी कोइरालालाई स्मरण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किने घोषणा गरेका थिए। उनले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र संविधानवादको पक्षमा एकजुट हुन राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आम नेपालीलाई आह्वान पनि गरेका थिए।
देउवाको स्वदेश फिर्ता कांग्रेसभित्रको राजनीतिक गतिविधि तीव्र भइरहेका बेला हुन लागेको हो। सर्वोच्च अदालतले गगन थापालाई कांग्रेस सभापतिको मान्यता दिने निर्णयसम्बन्धी मुद्दा पुनरावलोकन गर्ने निर्णय गरेपछि र कांग्रेसको इतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला उनको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
देउवा २०८२ चैत ७ गते उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि उनी हङकङ पुगेका थिए र त्यसयता उतै बस्दै आएका थिए। पत्नी डा. आरजु देउवा पनि उनीसँगै हङकङमा रहेकी छन्। आरजु नेपाल फर्किने वा नफर्किने विषयमा भने कुनै जानकारी सार्वजनिक गरिएको छैन।
देउवा विदेशमै रहेका बेला उनीसँग सम्बन्धित विभिन्न कानुनी तथा राजनीतिक विषय चर्चामा आएका थिए। सरकारको आग्रहमा इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रयास सफल हुन सकेको थिएन भने यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिएको थियो।
लामो समयपछि देउवा स्वदेश फर्किन लागेकाले उनको आगमनले नेपाली कांग्रेसको आन्तरिक राजनीति र समग्र राष्ट्रिय राजनीतिक घटनाक्रममा नयाँ बहस र चासो सिर्जना गर्ने अपेक्षा गरिएको छ।