परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्ने ‘गतिशील पुल’का रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
ललितपुरमा शुक्रबार आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालले दुई छिमेकी मुलुक चीन र भारतसँग सार्वभौम समानता, पारस्परिक सम्मान, साझा हित र वैध चासोप्रतिको संवेदनशीलताका आधारमा स्वतन्त्र परराष्ट्र सम्बन्ध अघि बढाउँदै आएको बताए।
उनले एसियामा भइरहेको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको सबैभन्दा प्रभावकारी माध्यम भएको बताए।
मन्त्री खनालका अनुसार चीन र भारतको निरन्तर आर्थिक विस्तारबाट नेपालले व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, पर्यटन तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय लाभ लिन सक्ने सम्भावना छ। त्यसका लागि आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको केन्द्रमा राखिएको उनले स्पष्ट पारे।
‘हाम्रो परराष्ट्र नीतिको मूल उद्देश्य नेपाली नागरिकको जीवनस्तर सुधार गर्नु हो। व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर विस्तार गर्नु नै हाम्रो प्राथमिकता हो,’ मन्त्री खनालले भने।
उनले दक्षिण एसियामा ठूलो आर्थिक सम्भावना हुँदाहुँदै पनि अपेक्षित स्तरमा क्षेत्रीय आर्थिक एकीकरण हुन नसकेको उल्लेख गर्दै यातायात सञ्जाल, सहज व्यापार, लगानी प्रवाह र आपूर्ति शृंखला सुदृढ गर्न सके क्षेत्रीय समृद्धिमा उल्लेखनीय फड्को मार्न सकिने धारणा राखे।
मन्त्री खनालले नेपाल दुई तीव्र गतिमा विकसित अर्थतन्त्रबीच रहेको भौगोलिक अवस्थालाई चुनौती नभई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। नेपाललाई भूपरिवेष्ठित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त आर्थिक र रणनीतिक पुलका रूपमा रूपान्तरण गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा उनले नेपालसँग ४२ हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् उत्पादन क्षमता, समृद्ध जैविक विविधता, प्रशस्त जलस्रोत, उर्वर कृषि भूमि तथा विस्तारोन्मुख डिजिटल अर्थतन्त्र रहेको उल्लेख गर्दै विदेशी लगानीका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने बताए।
उनले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत, विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक र प्राकृतिक सम्पदाले नेपालको अन्तर्राष्ट्रिय पहिचान र ‘सफ्ट पावर’लाई थप मजबुत बनाएको पनि उल्लेख गरे।