अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै सरकार : मन्त्री पुन

1.3k Shares

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

धवलागिरी गाउँपालिका समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री तथा वस्तु स्वदेशमै उत्पादन गरी रोजगारी सिर्जना र आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताए ।

‘ओझेलमा परेको अनुसन्धान र आविष्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ,’ म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले भने, ‘देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ ।’

उनले अनुसन्धान र आविष्कारलाई उत्पादनसँग जोडेर मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले काम गरिरहेको बताए । स्वदेशमै आवश्यक प्रविधि र सामग्री उत्पादन गर्न सके रोजगारीका अवसर सिर्जना हुनुका साथै आयातमा समेत कमी आउने उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्री पुनसँगै धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौंमा बसोबास गर्ने म्याग्दीवासीबीच जिल्लालाई समृद्ध बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन तथा पशुपालनलाई म्याग्दीको आर्थिक विकासको प्रमुख आधार बनाउन सकिने बताए । स्थानीय स्रोत, साधन र सम्भावनाको प्रभावकारी उपयोग गर्न सके जिल्लाको आर्थिक गतिविधि थप विस्तार गर्न सकिने उनको भनाइ थियो ।

म्याग्दीमा देखिएको सामाजिक समस्याबारे चर्चा गर्दै पुनले मेलाजात्रालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । मेलाजात्रा व्यवस्थापन नगरेसम्म शिक्षा क्षेत्रमा अपेक्षित सुधार गर्न कठिन हुने उनको भनाइ थियो ।

सम्बन्धित समाचार