प्रशासनको पहलपछि म्याग्दीमा एलपी ग्यास अभाव केही सहज

1.2k Shares

म्याग्दी । खाना पकाउने एलपी ग्यास म्याग्दीको सदरमुकाम बेनीमा सहज हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा ग्यास वितरण व्यवस्थित गरिएपछि उपभोक्तालाई केही राहत मिलेको हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय व्यवसायीबीचको समन्वयमा बेनी बजार र आसपासका क्षेत्रमा ग्यास वितरण गरिएको छ । आइतबार शक्ति ग्यास प्रालिबाट जलजला गाउँपालिका–पर्वत बेनी र बेनी नगरपालिका–म्याग्दी बेनीका ३२ वटा पसलका लागि ९९५ थान ग्यास सिलिन्डर आएको थियो । यसअघि पनि दुई दिनअघि ग्यास आएपछि प्रशासनकै समन्वयमा वितरण गरिएको थियो ।

ग्यास वितरणका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य स्वयं बजारमा खटिएर उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सहजीकरण गर्नुभएको थियो । उहाँका अनुसार अभावको समयमा आवश्यकताका आधारमा ग्यास वितरण गर्ने र अनावश्यक सञ्चिति रोक्ने उद्देश्यले प्रशासनले समन्वय गरेको हो ।

“ग्यास अभाव भएको समयमा प्रशासनले सहजीकरण गर्दा अत्यावश्यक भएकाले ग्यास पाऊन् र कसैले पनि वैकल्पिक व्यवस्थाका लागि सञ्चित गरेर नराखून् भन्ने हाम्रो प्रयास हो,” आचार्यले भन्नुभयो ।

मागअनुसार ग्यास आउन थालेपछि घट्यो उपभोक्ताको चाप

पर्वत बेनी र म्याग्दी बेनीका ३२ वटा पसलमा पाँचदेखि १०० थानसम्म ग्यास सिलिन्डर वितरण गरिएको थियो । स्थानीय व्यवसायीका अनुसार मागअनुसार ग्यास उपलब्ध हुन थालेपछि केही दिनअघिको तुलनामा उपभोक्ताको चाप घट्दै गएको छ ।

व्यवसायी भगवान् बरुवालका अनुसार अभावका बेला कतिपय उपभोक्ता सञ्चितिका लागि समेत ग्यास लिन लाइनमा बस्ने गरेका थिए । तर अहिले आपूर्ति हुन थालेपछि ग्यासकै अभावमा खाना पकाउन नसक्ने अवस्था तत्कालका लागि नरहेको उहाँले बताउनुभयो ।

बरुवालको पसलमा करिब ३०० वटा खाली सिलिन्डर भए पनि आइतबार ४० थान मात्र ग्यास प्राप्त भएको थियो । प्राप्त ग्यास नियमित ग्राहक तथा प्रशासनको आग्रहअनुसार आएका उपभोक्तालाई वितरण गरिएको उहाँले बताउनुभयो ।

“प्राप्त भएको ४० थान ग्यास नियमित ग्राहक र प्रशासनको आग्रहअनुसार आएका उपभोक्तालाई वितरण गरेका छौँ,” बरुवालले भन्नुभयो ।

लामो समय लाइन बस्नुपर्ने अवस्था घट्दै

यसअघि ग्यासको आपूर्ति नियमित नहुँदा उपभोक्ताले खाली सिलिन्डर बोकेर विभिन्न पसल धाउनुपर्ने र लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था थियो । प्रशासन, उद्योग वाणिज्य सङ्घ र व्यवसायीबीच समन्वय गरी वितरण सुरु गरेपछि तत्कालका लागि समस्या केही कम भएको व्यवसायीको भनाइ छ ।

रघुगङ्गा गाउँपालिका–३ पिप्लेबाट ग्यास लिन बेनी आउनुभएका सुनिल शाहीले प्रशासनको सहजीकरणका कारण आफूले सहज रूपमा ग्यास पाएको बताउनुभयो । अभावको समयमा सबै उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउनुपर्ने उहाँको माग छ ।

सञ्चिति रोक्न प्रशासनको निगरानी

ग्यासको नियमित आपूर्ति नहुँदासम्म प्रशासनले व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी वितरणलाई व्यवस्थित गर्ने जनाएको छ । अभावको मौका छोपेर आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्ने प्रवृत्ति रोक्दै अत्यावश्यक उपभोक्तालाई प्राथमिकता दिने प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार बेनीका विभिन्न ३२ पसलमा आउने ग्यास सिलिन्डरको सङ्ख्यासहितको विवरण सार्वजनिक गरेको थियो । उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा उक्त सूचना सार्वजनिक गरी उपभोक्तालाई ग्यास वितरणबारे जानकारी गराइएको हो ।

अन्तर्राष्ट्रिय घटनाक्रमका कारण उत्पन्न आपूर्ति चुनौतीका बीच स्थानीय प्रशासनले उपलब्ध ग्यासलाई व्यवस्थित रूपमा वितरण गर्न थालेपछि म्याग्दीमा तत्कालका लागि उपभोक्ताको समस्या केही कम भएको छ । तर आपूर्ति नियमित नभएसम्म अभाव पूर्ण रूपमा अन्त्य भएको मान्न नसकिने भएकाले आगामी दिनमा ग्यासको निरन्तर आपूर्ति र पारदर्शी वितरणलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार