संसद्को प्रभावकारिता बढाउन छुट्टै सुधार समिति बनाउन माग
1.1k
Shares
काठमाडौं, २५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले संसदीय अभ्यास सुधारका लागि छुट्टै समिति गठन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद आचार्यले अहिलेको संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको भन्दै संसद्लाई थप सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन सुधार आवश्यक रहेको बताएका हुन् ।
उनले संसद्मा हुने अभ्यासले सांसदहरूको क्षमता र भूमिकालाई पर्याप्त रूपमा उपयोग गर्न सकेको छ कि छैन भन्ने विषयमा सबै सांसदको धारणा लिन सर्वेक्षण गर्नुपर्ने बताए ।
‘मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु । संसद्मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु,’ उनले भने, ‘अब एकपटक सबै सांसदबीच सर्वेक्षण गर्नुपर्छ । के हामी सबै सांसद अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ ?’
आफ्नो जस्तै धारणा अन्य सांसदहरूको पनि रहेको पाइए संसदीय अभ्यास सुधारका लागि सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद आचार्यले संसद्लाई अझ प्रभावकारी बनाउने उद्देश्यले ‘संसदीय सुधार समिति’ गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे ।
‘मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर अहिलेको यो संसद्लाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ,’ उनले भने ।
उनले आफ्नो प्रस्तावप्रति सभामुखको ध्यानाकर्षणसमेत गराएका छन् ।