२८ गतेसम्म पर्खिन्छौं, त्यसपछि नयाँ बाटो रोज्छौं : बस्नेत

1.3k Shares

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्र देखिएको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिएका छन्।

नेपाली कांग्रेस सिन्धु–काठमाडौंद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिएका हुन्।

बस्नेतले कांग्रेसलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले तत्काल निकास दिनुपर्ने बताए। उनले कांग्रेसलाई एकताबद्ध र बलियो बनाएर मुलुकको राजनीतिक नेतृत्व गर्न सक्ने अवस्थामा पुर्‍याउनुपर्ने धारणा राखे।

उनले भने, “मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो।”

बस्नेतले कांग्रेस विभाजन गर्ने उद्देश्यले नभई पार्टीलाई अझ बलियो र एकताबद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहेको दाबी गरे। निर्धारित समयभित्र नेतृत्वबाट निकास नआए नयाँ कार्यदिशामा जानुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

उनले मुलुकमा बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए। साथै, देशभरका युवा कार्यकर्तालाई आ–आफ्नो जिल्लामा एकीकृत भएर पार्टी सुदृढीकरणको अभियान अघि बढाउन आग्रह गरे।

बस्नेतको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व र पार्टीको आगामी राजनीतिक दिशाबारे देखिएको असन्तुष्टि थप सतहमा ल्याएको छ।

 
 
 
सम्बन्धित समाचार