भानु देउवादेखि गंगा दाहालसम्मको सम्पत्ति अनुसन्धानमा
1.3k
Shares
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिव तथा उनीहरूका परिवारका सदस्यको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ।
आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिमाथि विस्तृत अनुसन्धान थालेको हो।
अख्तियारसम्बद्ध स्रोतका अनुसार भानु देउवालाई सम्पत्ति विवरणसहितको ‘१३ पाने फारम’ भराइसकिएको छ। आयोगले उनको परिवारका सदस्यको नाममा रहेको बैंक खाता, जग्गा, शेयरलगायत सम्पत्तिको विवरण संकलन गरिरहेको छ।
आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर देउवाको परिवारको सम्पत्तिको स्रोत र विवरणबारे छानबिन अघि बढाइएको स्रोतले जनाएको छ। अनुसन्धानका क्रममा विभिन्न बैंक तथा सम्बन्धित निकायबाट सम्पत्तिको विवरण माग गरिएको बताइएको छ।
त्यस्तै, गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिमाथि पनि एकसाथ अनुसन्धान भइरहेको छ। आचार्य कोशी प्रदेशसभाका सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन्।
अख्तियारसम्बद्ध स्रोतका अनुसार गंगा दाहाल र आचार्यको सम्पत्ति अनुसन्धान भानु देउवाको तुलनामा केही अगाडि बढेको छ। उनीहरूको नाममा रहेका केही सम्पत्तिको स्रोत खुलाउन आयोगले थप विवरण माग गरिरहेको जनाइएको छ।
यसैगरी अख्तियारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि पनि यसअघि नै अनुसन्धान सुरु गरिसकेको छ। बज्राचार्यलाई अख्तियारको टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइएको स्रोतले जनाएको छ।
आयोगले अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिको बैंक खाता, जग्गा, शेयर तथा अन्य सम्पत्तिको विवरण संकलन गरी ती सम्पत्तिको वैधानिक स्रोतबारे अध्ययन गर्नेछ। अनुसन्धानपछि प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढ्ने अख्तियार स्रोतले जनाएको छ।